पोखरामा पौवा ब्राण्डको होटलः ६० करोड लगानी, तीन सयलाई रोजगारी

काठमाडौं । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए ।

आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै ६० करोड लगानी गरिसकेको जनाइएको छ । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे । ‘काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ,’ उनले भने । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

बगैंचासहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु रहेको पौवाका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । उनले कोठामा वातानुकुलित रहेका बताए । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्ति स्तूपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिने उनले बताए ।

होटलमा दुई वटा सेमिनार र कन्फरेन्स हल, एक हजार भन्दा बढी क्षमताको ‘फेवा हल’ र अको सानो हल पनि छ । उनले सबै शाखामा गरेर करिब तीन सय जनाले रोजगारी पाएको बताए । १५० जना सेयर सदस्य रहेको होटलले निकट भविष्यमा नेपालगञ्ज काठमाडौं लगायतका सहरमा पनि होटल खोल्ने तयारी रहेको उनले बताए ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको उनले बताए।

कम्पनीले आउँदो दशकभित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् ।

‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ,’ प्रबन्ध निर्देशक ज्ञवालीले भने ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

पोखरामा खुलेको पौवाको ११औँ शाखाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवद्र्धन, फुड टेस्टलगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स