काठमाडौं । सुनको मूल्य १ लाख १० हजार नजिक पुगेपछि बजारमा सुन बिक्न नै छाडेको छ । नेपालीको क्रय शक्तिभन्दा बजार मूल्य बढेपछि सुन बिक्री दैनिक १० किलोमा खुम्चिएको हो । विवाह र चाडपर्वको सिजनमा दैनिक ४० देखि ४५ किलोसम्म बिक्री हुने सुन अहिले भाउ आकासिएसँगै दैनिक मुस्किलले १०किलो बिक्री हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।
‘पछिल्लो समय सुनको मूल्य बढेसँगै बजार खुम्चिएको छ,’ उनले भने ‘उपभोक्ताको क्रयशक्ति संकुचन भएको र सुनको मूल्य बढेका कारण असर परेको हो ।’ केहि समयअघि १ लाख ३ हजार पुगेको सुन ९२/९३ हजारसम्म झर्यो, बजार यसै भन्न सकिने अवस्थामा छैन । सुन महँगो हुँदा बजारमा पुरानो सुन पनि त्यतिकै बिक्रीमा आएको छ ।’
बजारमा सुन बिक्री नहुँदा अहिले बैंकमा १०० किलोभन्दा बढी सुन थुप्रिएर बसेको उनले बताए । सुन बजार त्यसैपछि तलामाथि भइरहने बजार हो । अहिले मूल्य बढ्दा बैंकमा सुन थुप्रिएको छ भने अवैध सुन पनि त्यति नै आइरहेको छ ।
विभिन्न ठाउँमा सुन समातिएका छन् । त्यसरी सुन ल्याउँदा राज्यलाई तिर्नुपर्ने राजस्व तिर्नु नपर्ने भएकोले राजस्व तिरेर ल्याएको सुनभन्दा अवैध तरिकाबाट भित्रिएको सुन खरिद गर्न व्यवसायीहरू बढी अग्रसर भएको पाइन्छ । यसमा अहिले विश्वव्यापी रुपमा खुम्चिएको अर्थतन्त्रले बजारलाई तलमाथि हुन अझ मद्दत पुगेको छ । विश्व भरिनै सुनलाई नगद सरहनै मानिन्छ । सो कारणले पनि सुन खरिद गर्नका लागि मानिस त्यसै पनि लालइत हुन्छन् ।