अझ कर्जाको ब्याजदर घटाउन यस कारणले सम्भव छः बैकर्स भुवन दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिले ब्याजदर घटाउने अनूकूल समय भएको बताएका छन् । बैंकहरूको तथ्यांक हेर्दा अहिले ब्याजदर घटाउने अझ सम्भव भएको र उपयुक्त समय भएको उनले बताएका हुन् ।

‘म अहिले ब्याजदर घट्ने सक्ने परिदृष्य देख्छु,’ उनले भने ‘गत वर्ष जुन बेला बैंकको ब्याजदर बढ्न थालेको थियो, त्यति बेला बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि थियो । अहिले बैंकहरूको सीडी रेसियो ८६ प्रतिशतको हाराहारीमा छ ।’

बैंकहरूसँग २ खर्ब रुपैयाँ लगानी योग्य पुँजी छ । ब्यालेन्स अफ पेमेन्ट (बीओपी) पनि १ सय अर्बभन्दा बढीले बचत भएको अवस्था छ । यसले गर्दा अहिले ब्याजदर घटाउने अनुकूल समय देखिएको हो । खुल्ला बजार अर्थतन्त्रमा लोनेबल फण्ड पनि भएको र बीओपी पनि बचतमा रहेकोले चैत महिनादेखि नै मुद्दति निक्षेपको ब्याजदर घट्छ भन्ने लागेको उनले बताए ।

चैत महिनामा बचतको केहि घट्यो । बचतको ब्याजदर घट्दा बचतको भन्दा ५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्थाका कारण कल डिपोजिटको पनि ब्याजदर घटेको छ । मुख्य कुरा मुद्दति निक्षेपको हो । यो म्याचुयड हुँदै जाँदा रि डिपोजिट गर्दा रि प्राइसिङ हुन्छ । ‘मलाई लाग्छ वैशाखदेखि यसको पनि ब्याजदर घट्छ, तथ्यांकले पनि त्यहि भन्छ । महँगो ब्याजमा रहेको ६५ प्रतिशत मुद्दति निक्षेप हरेक दिनजस्तो नवीकरण हुँदै जान्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार छोटो अवधि ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको हिस्सा कुल मुद्दतिमा करिब २५ प्रतिशतको छ । अब नवीकरण हुँदा नयाँ दरमा नवीकरण हुने भएकाले लागत अझ कम परेर ऋणको ब्याज कम हुँदै जाने तथ्यांकले देखाएको छ । बैंकका डाटाहरू ब्याजदर घट्न फेन्ड्ल्ली देखिन्छ । ब्याजदर घट्ने मेन कुरा भनेको बैंकको तथ्यांक नै हो ।

अहिले मूल्य वृद्धि ७ देखि ८ प्रतिशतको बीचमा छ । मूल्यवृद्धि त्यति कायम हुँदा मुद्दति निक्षेपको ब्याजदर ९ देखि १० प्रतिशतको बीचमा राख्न सकिन्छ । वैशाख १ गतेदेखि बैंकहरूको दायित्व पनि घट्छ । बैंकको दायित्व घट्ने हुँदा १२ प्रतिशतको हाराहारीमा कर्जा दिन सकिन्छ । किनकी बैंकहरूसँग लोन दिने पैसा पनि भएको र बैंकहरूको स्प्रेडदर पनि बढी भएको, बेसरेट पनि घट्दो अवस्थामा भएकाले राष्ट्र बैंकको नियमअनुसार तल झार्नुपर्ने भएकोले कर्जाको ब्याजदर १२ प्रतिशतसम्म सीमित गर्न सकिने उनले बताए ।

अहिले २ प्रतिशतभन्दा बढी प्रिमियम लिने बित्तिकै स्पेडदर ४ प्रतिशतभन्दा बढी हुन्छ । सो कारणले पनि बैंकहरूले कर्जाको ब्याजदर १२ प्रतिशतकै हाराहारीमा राख्नुपर्ने हुन्छ । अहिले बैंकहरूले १५/१६ प्रतिशतसम्म छ । अहिलेको अवस्थालाई हेर्दा कर्जाको ब्याजदर ३ देखि ४ प्रतिशतसम्म ब्याजदर कम गर्न सकिन्छ ।

अहिले वाणिज्य बैंकहरूले ११.४१ प्रतिशत ब्याजमा मुद्दति निक्षेप लिइरहेका छन् । ‘अहिलेको तथ्यांक हर्दा कर्जाको ब्याजदर घटाउन सक्ने देखिन्छ,’ उनले भने ‘वैशाखमा निक्षेपको ब्याजदर राष्ट्र बैंकको नियम अनुसार १० प्रतिशतमात्रै घटाउँदा पनि १.१४ प्रतिशत घट्ने हुँदा मुद्दति निक्षेप १०.२७ प्रतिशतमा आउँछ ।

यसमा २ देखि ३ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्न सक्ने अवस्था आएको छ । पुस महिनामा १०.९१ प्रतिशत रहेको बैंकहरूको आधार दर माघमा १०.७२ प्रतिशतमा झरिसकेको छ ।

अहिले बैंकहरूले कर्जा दिँदा अर्थतन्त्रलाई चलाएमान बनाउने घर कर्जालाई बढि प्रोत्साहन गर्न सके अझ बढि फाइदा लिन सक्ने उनले बताए । घर बनाउनको लागि डण्डीको कच्चा पदार्थ बाहेक अन्य सबै सामग्री नेपालमै बन्छ । घर कर्जा ११ प्रतिशतदेखि १२ प्रतिशतमा दिन सकियो भने यसले अर्थतन्त्र चलायमान बनाउन सघाउँछ ।

घर कर्जा दिँदा नेपालको सामानको बढी प्रयोग हुने र आयातित सामान कम प्रयोग हुने भएकोले पनि घर कर्जा स्कीम ल्याएर दिँदा राम्रो हुने उनको सुझाव छ । गाडी कर्जालाई अलि माथि लगेर घर कर्जा सहज बनाइदिए यसको चेन प्रवाह देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स