काठमाडौं। टाटाको विद्युतीय ट्याक्सी खरिद गर्न नबिल बैंकले ८० प्रतिशत ऋण उपलब्ध गराउने भएको छ । आइतबार टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच टाटाको इभी ट्याक्सी एक्सप्रेस टी किन्ने ग्राहकलाई ऋण उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । टाटाको इभी ट्याक्सी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर ट्याक्सी किन्न सक्ने कम्पनीले जनाएको छ ।
नबिल बैंकले उक्त ट्याक्सी खरिद गर्न ८० प्रतिशत ऋण उपलब्ध गराउने जनाएको छ । यसैगरी, यो ऋणको समयावधि ७ वर्षसम्मको लागि हुनेछ । यसको ब्याजदर १४.१० प्रतिशत कायम गरिएको छ । यसका लागि पाटनमा रहेको बैंकको शाखा बाट ऋण उपलब्ध हुने बैंकले जनाएको छ ।
एक्सप्रेस टी टाटा मोटर्सको प्रिमियम फ्लीट इलेक्ट्रिक सेडान हो जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरुको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ ।
एक्सप्रेस टी इभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लीट अपरेटरले टाटा मोटर्सबाट विद्युतीय गाडीको फ्लीट खरिद गर्नका लागि अब थप सहज र छिटो प्रक्रियामा ऋण पाउने बताइएको छ ।
बैंकका अनुसार फ्लीट संचालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पूरा गर्नको लागि विचार गरी लिइनेछ जसले गर्दा फ्लीट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ ।
नेपालमा इभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लीट इभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएको छ। यस अन्तर्गत अग्रणी सुविधाहरूदेखि लिएर फ्लीट इभीलाई आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङका सुविधासम्म उपलब्ध छन् ।