उपराष्ट्रपतिको मतदानमा को-को भए अनुपस्थित ?

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो ।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् । मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) तर्फका जम्मा तीन सय ३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छ ।

आजको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक जना सांसद मतदान नगरी तटस्थ बसे ।

यसैगरी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरु चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी भएकाले उपस्थित भएन । साथै सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरीको मुद्दाका कारण मतदानमा अनुपस्थित थिए ।

प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार छन् ।

उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ ।
(((

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स