काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । डीडीसीले आज (चैत्र २ गते) देखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर न्युनतम १० रुपैयाँदेखि अधिकतम १६ रुपैयाँसम्म बढाएको हो ।
जसअनुसार सबैभन्दा बढी रुचाइएको प्रतिनिधि उत्पादन प्रशोधित स्ट्याण्डर्ड दुध (निलो प्याकेट)को मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा ४८.५० रुपैयाँ कायम भएको छ ।
सो दूधको मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा क्षेत्रमा ९७ रूपैयाँ, बुटवल क्षेत्रमा ९४ रूपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा ९२ रूपैयाँ कायम गरिएको छ ।
संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । अब गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ ।
संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ । अब हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।