बैंक तथा वितीय संस्थाहरुले घटाएको ब्याजदर आजदेखि लागू, कसको कति ?

काठमाडौं । बैंक तथा वितीय संस्थाहरुले घटाएको ब्याजदर आज चैत्र १ गतेदेखि लागु भएको छ । फागुन २५ गते बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैंठकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउने निर्णय गरेको थियो। सोहि निर्णय अनुसार घटेको ब्याजदर आजबाट लागू भएको हो ।

जसअनुसार अब वाणिज्य बैंकहरुले साधारण बचत खाताको निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिने सहमति वाणिज्य बैंकहरुले गरेका थिए ।

त्यस्तै कल डिपोजिटको ब्याज पनि बैंकर्स संघको निर्णयले घटाएको छ । संघले कल डिपोजिटमा ०.२१ प्रतिशतले घटाएर ३ प्रतिशत कायम गरेको छ । यस अघि बैंकहरूले सो खातामा ३.२१ प्रतिशत ब्याज दिने गरेका थिए ।

ब्याजदरको सहमतिमा संघले कर्जाको ब्याजदर समेत घटाएको छ । संघले प्रिमियमदर घटाउँदै कर्जाको ब्याजदर घटाएको हो । हालसम्म वाणिज्य बैंकहरुले अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिने सहमति गरेका थिए । जसलाई १ प्रतिशतले घटाएर चैत १ गतेदेखि बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउनेछन् ।

अहिले १० प्रतिशतको हाराहारीमा बेसरेट छ भने ५ प्रतिशत प्रिमियम जोडेर करिब १५ प्रतिशतमा ऋणीले कर्जा पाउने छन् ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने थपघट नगर्ने निर्णय संघले गरेको छ । चैतमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरूको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दति निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ ।

पुसदेखि वाणिज्य बैंकहरुको कर्जा प्रवाह दर घट्दै गएको छ । गत वर्षको पुसमा सीडी रेसियोको ८९.९९ प्रतिशतसम्म कर्जा प्रवाह गरेका बैंकहरू अहिले ८६ प्रतिशत हाराहारीको स्थितिमा छन् । यसको अर्थ अहिले बैंकहरूसँग लगानी योग्य पुँजी सहज छ भन्ने हो । बैंकहरूसँग करिब २ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । लगानीयोग्य रकम थुप्रिँदै जाँदा स्वाभाविक रुपमै ब्याजदर घट्दै जानेछ ।

विकास बैंकहरूले मुद्दति र बचत दुबै निक्षेपको ब्याजदर घटाएका छन् । चैत १ गतेदेखि लागू हुने गरी बैंकर्स संघको बैठकले १ वर्र्षदेखि माथिको मुद्दति खातामा एउटा र १ वर्षभन्दा कमको मुद्दतिमा अर्कोथरी ब्याज दिने निर्णय गरेको हो ।

विकास बैंकहरूले चैतबाट लागू हुने ब्याज दरलाई वर्गीकरण गरेका हुन्। उनीहरुले फागुनको तुलनामा चैतमा ब्याज केही कम गर्ने निर्णयसमेत गरेका छन् ।

अहिले मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले १ वर्षदेखि माथिको ब्याज दर ०.१५ प्रतिशत विन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन् । एक बर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका हुन् ।

बचत खाताको ब्याज पनि घटाइएको छ । बचतको ब्याज साविकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यो न्यूनतम ब्याज हो । बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेका छन् ।

गत साता वाणिज्य बैंकहरूले मुद्दतिको ब्याज यथावत राखेर बचतको घटाउने निर्णय गरेका थिए । उनीहरूले मुद्दतिको ११ प्रतिशत राखेका छन् भने बचतको अहिलेको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म लाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेको थिए भने कल डिपोजिट खाताको निक्षेपको ब्याज ३ प्रतिशतमा झारेका छन् ।

विकास बैंकका साथै फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाएका छन् । फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ । अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने संघले जनाएको छ ।

संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन । कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स