काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानीकर्तालाई सहजीकरण गर्न एकल विन्दु सेवा सुरु गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा आयोजना गरेको नेपाल–चाइना बिजनेस फोरम २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झटबाट मुक्त गर्न अर्थात उहाँहरूलाई सहजीकरण गर्न एकल विन्दु सेवा सुरु गर्न लागिएको बताएका हुन् ।
‘उक्त सेवा सुरु गर्न कानुन पारित हुने क्रममा रहेको छ,’ उनले भने ‘सरकारले विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्थाको सिर्जना गर्ने छ । हामी पनि विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छौं ।’
हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता पनि उनले बताए । चीनले हाम्रो उक्त आवश्यकता पूरा गर्न सहयोग गर्न सक्ने पनि उनले बताए ।
दुई देशबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्रीले औल्याए । नेपालबाट निर्यात हुने तरकारी, चिया मासु, आयुर्वेदिक औषधी जस्ता उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने गरी सुविधा दिन पनि दाहालले आग्रह गरे ।
कार्यक्रममा परिसंघ अध्यक्ष विष्णुप्रसाद अग्रवालले नेपाल र चीनमा व्यवसायीबीच दुई देशमा रहेको व्यावसायिक सम्भावनाका विषयमा छलफल गर्न सहयोग हुने बताए ।
‘नेपाल र चीनबीच ६७ वर्षदेखि दुईपक्षीय व्यापार भइरहेको छ, यो फोरम दुई देशबीच थप सहकार्यको सम्भावना खोज्न सफल हुने मेरो विश्वास छ,’ अग्रवालले भने, ‘नेपालको आर्थिक समृद्धिका लागि चीन र नेपालबीच सहकार्य बढ्न जरुरी छ ।’