उद्योगी व्यवसायीहरूले बैंक बन्द गर भनेर पत्र काटेपनि बैंकहरूले बैंकिङ सेवा दिएर ग्राहकमाथि अन्याय हुन दिएनन्

काठमाडौं । गलत काम र हल्लाको पछि नलागी बैंकहरूले आम नागरिकमाथिको जिम्मेवारी पुरा गरेका छन् । हिजो सोमबार मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न बैंकहरूलाई पत्र पठाएर भोलि बैंक बन्द गर्न आग्रह गरेको थियो । संघले त्यस्तो पत्र पठाएपनि बैंकहरूले भने आफ्नो दायित्वबाट पछि नहटी बैंकका सबै शाखा खोलेर आम ग्राहक सेवा दिएका छन् । निश्चित समूहको स्वार्थपूर्तिको हल्लामा नलागी बैंकहरूले आफ्ना ग्राहकमाथि अन्याय हुन नदिएका हुन् ।

हिजो बैंक बन्द गर्ने पत्र काटेसँगै भएको हल्लाले बैंकमा सेवाग्राहीको उपस्थिति कम भएपनि बैंक भने बन्द नभएको नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए । ‘हिजोनै आज बैंक बन्द हुन्छ भनि गरिएको हल्लाको असर बैंकमा परेपनि बैंक तथा बैंक शाखा भने बन्द गरिएको छैन,’ उनले भने ‘बन्द गर्न चाहनेले पनि बैंक खुलाएको भनेर कुनै अब्जेक्शन तथा डिस्टव गरेका छैनन् ।’

उद्योगी व्यवसायीहरूले मंगलबार बैंक बन्द गर्न आग्रह गर्दै हिजो प्रत्येक बैंकलाई पत्र गरेका थिए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरूले विरोध गरिरहेका छन् ।

आज पनि वालुवाटार घेराउमा उद्योगी व्यवसायीहरू लागिरहेका छन् । आन्दोलनको नेतृत्व गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष तथा आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दावेदार दिनेश श्रेष्ठले यसको मोर्चा सम्हालिरहेका छन् । हिजो पनि चर्को ब्याजको विरोध प्रर्दशन थियो । अहिले दिनहुँ यस्ता विरोधका गतिविधि हुँदै आएका छन् । सोही विरोधलाई सहयोग स्वरुप आज बैंक बन्द गर्न सम्पूर्ण बैंकहरूलाई आग्रह गरेको हो ।

‘आर्थिक मन्दीको कारण उद्योगका उत्पादनहरुको बिक्रीमा गम्भीर धक्का लागेको छ, व्यवसायीहरुको न्यून बिक्रीको कारण आर्थिक सन्तुलन बिग्रिएको छ, उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई टेवा पुर्याउन एक अंकको ब्याजदर कायम गरी राहत दिन यहाँ मार्फत् अनुरोध गर्दै फागुन ३० गते हाम्रो अनुरोधलाई सघाउन बैंक बन्द गरिदिन अुरोध गर्दछौं,’ पत्रमा लेखिएको छ ।

उनीहरुले मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, ब्याज दरमा स्थिरता कायम गर्नुपर्ने, चालु पुँजी निर्देशिका स्थगित गर्नेदेखि बैकिङ आतंक बन्द गर भन्ने लगायतका मागहरू राखेर राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए ।

उद्योगी व्यवसायीहरूले बैंक बन्द नै गर्नका लागि पत्र पठाएपछि बैंकर्सले भने बैंक बन्द नगर्न आफ्ना शाखाहरुलाई आन्तरिक सर्कुलर गरेका छन् । बैकहरूले आफ्ना शाखा कार्यालयहरूलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सहयोगमा बैंक खोल्न सुझाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स