वैदेशिक रोजगारीमा गएकाले पठाए ६ खर्ब ८९ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार रेमिट्यान्स आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७ सय ६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ६५ दशमलब नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५ दशमलब दुई प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलब सात प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स