काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासको आज फागुन २६ गते सरकार एक खर्ब ५६ अर्ब घाटामा देखिएको छ । सरकारले यो अवधिसम्म जम्मा ६ खर्ब ५ अर्ब ६७ करोड रुपैयाँ आम्दानी (राजस्व, गैर राजस्व, अनुदान तथा अन्य रिसिप्टस्) गरेर ७ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँ खर्च गरेको हो ।
सरकारको गरेको आम्दानीभन्दा खर्च धेरै हुनु भनेको देशको आम्दानीले खर्च धान्न नसकेर घाटामा जानु हो । सरकारले आज शुक्रबार एकै दिन ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेपनि खर्च भने धान्न सकेको छैन ।
सरकारले चालु आर्थिक वर्षमा कुल १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ उठाउने राजस्व लक्ष्य निर्धारण गरेको थियो । चालु आवको दोस्रो चौमाससम्म लक्षित राजस्वको जम्मा ४१.५२ प्रतिशतमात्रै राजस्व संकलन गरेको हो । देशमा आएको मन्दी र धेरै वस्तुको आयातमा लगाइएको प्रतिबन्धको कारण सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।
आन्तरिक राजस्व कार्यालयले त यहि साता मंगलबार सूचना नै निकालेर कर परफारक गर्न आम करदातालाई अनुरोध गरेको छ । विभागका अनुसार चालु आवको मात्रै होइन गत आवकै कारोबार विवरण बुझाउन धेरै फर्म तथा कम्पनी बाँकी रहेकोले उनीहरूलाई समयमा कर नतिर्दा अझ जरिवाना लाग्ने भन्दै जतिसक्दो छिटो कर तिर्न आग्रह नै गरेको छ ।
राजस्व संकलनमा भएको कमीका कारण सरकारको आम्दानी त घटेको छ नै आम्दानीका साथसाथै सरकारले पुँजी निर्माण हुने पुँजीगत खर्च पनि त्यति गर्न सकेको छैन । बजेटले लक्षित गरेको चालु खर्च ५० प्रतिशतभन्दा बढी भएपनि पुँजीगत खर्च भने फागुन २६ गतेसम्म जम्मा २१.४४ प्रतिशत अर्थात ८१ अर्ब ५५ करोड ८० लाख रुपैयाँमात्रै भएको छ ।
सरकारले संकलन गरेको राजस्व ४१ प्रतिशत रपुँजीगत खर्च भने २१ प्रतिशतमात्रै हुनु भनेको देश सहज अवस्थामा छैन वा कुनै अप्ठ्यायारो अवस्थामा छ भन्ने हो । यदि देश सहज अवस्थामा भइदिएको भए सरकारले लक्ष्य गरेअनुसारको राजस्व संकलन हुन्थ्यो भने लक्षित पुँजीगत खर्चले पनि गति लिएर अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुर्याउन्थ्यो ।