काठमाडौं । भोलिबाट सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि (फागुन २६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
सो सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाले कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ ।