मोदी ईनर्जीको आईपीओको आवेदन खुला

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आज (फागुन २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५का बासिन्दाको लागि निष्कासन गरेकोे हो ।

साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स हाल कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने सेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको प्रति मेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १२ वर्ष ११ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ वर्ष ८ महिना रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी रहेको छ । कम्पनीले २०७८ असोज १४ गतेदेखि व्यवसायीक उत्पादन सुरु गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स