कान्छी प्राध्यापकको जीवन रक्षाका लागि अपिल

काठमाडौं । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छिन् ।

स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा डा उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरेकी हुन् ।

उनी क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हो । प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाउँदै आएकी छन् ।

सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलको नेपाल र जर्मनीमा उपचारका क्रममा साढे चार करोड रूपैंयाँभन्दा बढी खर्च भई सकेको छ । यति गर्दा पनि हालसम्म क्यान्सर पूर्णरुपमा निको भएको छैन । पूर्णरुपले क्यान्सर निको नभएपछि अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावमा ‘इम्युनो थेरापी’ सुरु गरिएको छ । उनको हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरि सकिएको छ ।

प्रा डा प्याकुरेलको अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ । एक चरणको उपचारका लागि २१ दिनमा करिब चार लाख रूपैंयाँ लाग्छ । ‘अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो’, प्रा प्याकुरेलले भनिन,‘सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ ।’ उनले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन्।

उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ । उनी मधुश्री नामबाट साहित्य रचना पनि गर्छिन । उनको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा डा टङ्कनाथ धमलाले प्रा डा प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए ।

विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक छिन्। प्रा डा धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध पनि गरे ।

त्यस्तै, तीन वर्षदेखि प्रा प्याकुरेलको उपचारमा संलग्न प्रा डा राजेन्द्र बरालले प्रा प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको बताए । अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपिल गरे ।

प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताए ।

सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी डा प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आफूहरु सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ छ ।

उनलाई सहयोग गर्नका लागि काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स