ऋणीहरूले ऋण नतिरे बैंक कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्छः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका भावी अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऋणीले लिएको ऋण नतिर्ने हो भने नेपाली बैंकहरू कुनै पनि बेला अप्ठ्यारो अवस्था पुग्न सक्ने बताएका छन् । नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले ऋणीले बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेकोले यो डर लाग्दो अवस्था भएको बताएका हुन् । उनले चेतावनीको भाषामा भनेका छन् –‘यो काण्डले नेपाली बैंकहरु असुरक्षित रहेको सन्देश प्रवाह भएको छ ।’

यदि यस्ता समाचार आइरहने र ऋणीले अर्काको लहै लहैमा लागेर ऋण तिर्दिन भन्दा दुई दशक अघि नेपाल बंगलादेश बैंक जस्तै टाट पल्टिने अवस्था आउन सक्ने चेतावनी उनले दिएका हुन् । उक्त बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकाल्दा बैंक अप्ठ्यारोमा परेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नुपरेको थियो । नेपाल बंगलादेश बैंकमा करिव २० वर्ष पहिले पत्रिकाले समाचार लेखेको आधारमा हजारौं मानिसहरु पैसा झिक्ने लाइनमा बस्दा एकै दिन १० अर्ब निक्षेप झिकिएको थियो ।

‘बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे । ‘राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीह साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो ? बैंकको निक्षेप भनेको त आम जनताको पैसा हो नि । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर सस्तो लोकप्रियताका लागि हामीले भन्दै हिड्यौ भने वा बैंकलाई मात्र गाली गर्दे हिडियो भने त्यसको नतिजा कस्तो आउँला ?’ उनले प्रश्न गरे ।

‘अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ,’ उनले भने ‘ यो डर लाग्दो अवस्था हो, हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौं भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको कर्जाको ब्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले गरेको आन्दोलनले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने बताउदै भने ‘यसको समाधान चाँडै निकाल्नु पर्छ, नत्र यसले भयावह स्थिति पैदा गर्न सक्छ । अर्थतन्त्रलाई गम्भिर असर पुर्याउन सक्छ ।’

हालका उपाध्यक्ष र आगामी चैत्रबाट अध्यक्ष बन्दै गरेका ढकालले सरकारले अर्थतन्त्र सुधार्न गलत बाटो समातेको दावी गरेका छन् । ‘आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौँ । तर, त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजस्वमा ठूलो असर परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स