चोभार सुक्खा बन्दरगाह आन्तरिक टर्मिनल सञ्चालनमा, ४६ करोड ६५ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार

काठमाडौं । नेपाली उद्योगी व्यवसायीलाई सहज हुने र उपभोक्तालाई पनि वस्तुको मूल्यमा केहि राहत हुने अनुमानसहित चोभार सुक्खा बन्दरगाह निर्माण सम्पन्न भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले धुमधामका साथ उद्घाटन गरेको उक्त बन्दरगाह सञ्चालनमा आएको ११ महिनापछि आन्तरिक टर्मिनल (आन्तरिक आयात÷निर्यात क्षेत्र) सञ्चालनमा आएको छ ।
चोभार सुख्खा बन्दरगाहको आएसँगै पार्किङको समस्या अन्त्य भएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुख्खा बन्दरगाह सञ्चालनमा आएको बताए ।

आयात निर्यात (एक्जिम) टर्मिलन गत चैत २२ गतेदेखि सञ्चालनमा रहेको भएपनि डोमेस्किट टर्मिनल सञ्चालनमा आएको भने थिएन । मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकले दुई साताअघि आन्तरिक टर्मिनल सञ्चालनको अनुमति तथा दररेट स्वीकृत गरेको थियो ।

जुन फागुन १ गतेदेखि बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आइसकेको छ । आन्तरिक टर्मिनल सञ्चालनमा आएसँगै सरकारी लजिस्टिक्स हबको अभावमा मालबाहक गाडीहरू विभिन्न स्थानमा रोकेर राख्नुपर्ने वाध्यताको अन्त्य भएको उनले बताए ।
सुक्खा बन्दरगाहको लागत अनुमान २ अर्ब १८ करोड ७२ लाख रुपैयाँ गरिएपनि १ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग गरेको छ ।

चालु आवको ७ महिनामा ३५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा ९८ लाख ३० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार यो बन्दरगाहबाट चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा जम्मा ३६ करोड २१ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको छ ।

बन्दरगाह संचालनमा आएदेखि गत आव अर्थात चैतदेखि असार मसान्तसम्म यो नाकाबाट १० करोड ४४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । त्यसमा चालु आवको व्यापार जोड्दा ४६ करोड ६५ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको देखिन्छ ।

नेपालमा सामान भित्रिने र बाहिरिने अन्य भन्सार नाकाको चापलाई मध्यनजर गर्दै चाप कम गर्न निर्माण गरिएको उक्त बन्दरगाहको उपयोगिता खासै नभएको समेत आयात निर्यातको तथ्यांकले देखाएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर विरगंज, भैरहवा, विराटनगर लगायतका भन्सारबाट जाँचपास हुने गरेका थिए । यसरी दैनिक भित्रिने कन्टेनर र सिमानाकाका भन्सार कार्यालयमा हुने चापका कारण कन्टेनर जाँचपास हुन समय लाग्ने गरेको छ ।

व्यवसायीहरुले उक्त बन्दरगाहमा कन्टेनर ल्याउने र जाँचपास गराउने आश्वासन दिएपनि सोहीअनुसार कन्टेनर भने आउने नगरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।
२ सय २० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बन्दरगाहामा कोरोना कहरकै बीच पनि काम निरन्तर हुँदा गत बर्षको असोजमै निर्माण सम्पन्न भएको थियो ।

२०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास भने ८ महिनापछि अर्थात सोही बर्षको माघमा मात्रै गरिएको थियो । त्यसअघि साउन ३० गते शिलान्यास गर्ने तयारी गरिएपनि स्थानीयको अवरोधका कारण शिलान्यास कार्यक्रम स्थगित गरिएको थियो ।

यो बन्दरगाहा तातोपानीको बन्दरगाहजत्तिकै क्षमताको हो । यसमा ५ सयओटा कन्टेनर र ५ सय ट्रक पार्किङ गर्न सकिने गरी पार्किङ यार्ड, वेयर हाउस, भन्सार, बैंक तथा वित्तीय संस्थाका लागि र प्रशासनका लागि आवश्यक भवन, कन्टेनरसहितका ट्रकहरु भित्रिने र बाहिरिने ३ ओटा मुख्य द्वारलगायतको निर्माण गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स