सीएसआर रकम खर्चमा प्राधिकरणको लगाम, राजनीतिक लाभ लिन नपाउने, कार्यविधि बनाएर खर्च गर्नुपर्ने

काठमाडौं । अब बीमा कम्पनीका सञ्चालकहरूले राजनीतिक लाभको आधारमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम खर्च गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब सीएसआरको रकम संचालक समितिका सदस्यहरूलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन । यसअघि बीकम कम्पनीका सञ्चालकहरूलाई सीएसआरको रकम खर्च गर्नको लागि कुनै पनि रोकावाट थिएन ।बीमक कम्पनीहरूले प्रत्येक आर्थिक वर्षको खुद नाफाको एक प्रतिशत रकम छुटयाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने छ । र, उक्त कोषमा जम्मा भएको रकम विभिन्न क्षेत्रमा खर्च गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख गरिएको छ ।

संशोधित निर्देशिका अनुसार कम्पनीहरुले सामाजिक परियोजनाहरुमा जस्तै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सिमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रम खर्च गर्नुपर्नेछ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तै–शिक्षा, स्वास्थ्यमा मात्रै सीमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विषयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि चाइल्ड डे केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च सीएसआरबाट गर्न मिल्ने भएको छ । कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च भने सीएसआर कोषबाट व्यहोर्न नपाइने भएको छ ।

कोषको रकम खर्च गर्दा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि यस व्यवस्था अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया, कोषको सञ्चालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाइ लागू गर्नुपर्ने प्राधिकरणको नयाँ व्यवस्था छ ।

कोषको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तीय विवरणको लेखा विवरण अन्तर्गत खुलाउनु पर्ने प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स