राष्ट्र बैंकले ७ महिनामा तलबभत्ता तथा पेन्सनमा खर्च गर्यो करिब ३ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । बैंकले सो खर्च कर्मचारीको तलबभत्ता तथा पेन्सनका लागि खर्च गरेको हो । गत आर्थिक वर्षभरिमा बैंकले कर्मचारीको तलब भत्ता तथा पेन्सनको लागि ३ अर्ब ३६ करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो ।

चालु आवमा भने बैंकले ७ महिनामै करिब ३ अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षभरि राष्ट्र बैंकले सो शीर्षकमा गरेको खर्च चालु आवको ७ महिनामा भएको खर्चभन्दा ५० करोड रुपैयाँले बढी हो । अहिले भएको खर्चलाई हेर्ने हो भने अबका बाँकी महिनामा राष्ट्र बैंकले अझ २ अर्बभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ अर्थात राष्ट्र बैंकको कर्मचारी र पेन्सनरलाई मात्रै ५ अर्बभन्दा बढी खर्च हुने देखिएको छ ।

राष्ट्र बैंकमा १८ अधिकृत विशिष्ट, ५८ अधिकृतप्रथम, २१७ अधिकृत द्वितीय, ३६० अधिकृत तृतीयलगायत कार्यालय सहयोगी चतुर्थसम्म गरी कुल १२ सय २६ दरबन्दी रहेको छ । सो दरबन्दीमध्ये एक हजार ७१ जना कार्यरत छन् । गत वर्षको पुससम्म राष्ट्र बैंकका १ हजार १४ जना कर्मचारी कार्यरत थिए । गत आवको तुलनामा यो आवमा कर्मचारीको संख्या ५७ जनाले बढ्दा पनि व्यवभार थपिएको हो ।

गत आवको तुलनामा चालु आवमा कर्मचारीको तलब १५ प्रतिशतले बढेको कारण खर्च बढेको राष्ट्र बैंकको भनाइ छ । कर्मचारीको तलब बढ्दा बेसिक स्यालरीमा ५ प्रतिशतका दरले ग्रेड पनि बढ्ने गर्छ । साथै राष्ट्र बैंक नाफामा भएका बेला कर्मचारी कल्याणकारी कोषमा पनि १० प्रतिशतका दरले रकम थपिने र औषधि वापतको रकममा समेत थप हुँदा खर्च बढेको राष्ट्र बैंकले जनाएको छ । बजारमा तरलता अभाव हुँदा राष्ट्र बैंकको आम्दानी अझ बढ्ने गर्दछ । अहिले मुद्दति निक्षेपका साथै विदेशमा लगानी गरेको रकमको ब्याज ४ देखि ५ प्रतिशत पुगेको छ । यसले अझ राष्ट्र बैंकको आम्दानी बढाएको हो ।यो आव राष्ट्र बैंकका कर्मचारीका लागि अझ राम्रो हुने देखिएको छ ।

राष्ट्र बैंकले आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । सो तथ्यांकअनुसार राष्ट्र बैंकले सरकारलाई २ अर्ब १२ करोड ९१ लाख रुपैयाँ अतिरिक्त भुक्तानी गर्नुपर्ने देखिएको छ । गत आवको अन्त्यसम्म यस्तो राष्ट्र बैंकले सरकारलाई भुक्तान गर्नुपर्ने अतिरिक्त रकम १ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ थियो । राष्ट्र बैंकसँग आईएमएफ सम्बन्धी लायबिलिटी ४ अर्ब ७ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्थाको ११ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनासम्म बजारमा ६ अर्ब ५ अर्ब ६२ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आवको अन्त्यसम्म बजारमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स