हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु, बन्यो छैटौं ठूलो बैंक

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै एकीकृत कारोबार सुरु गरेका हुन् ।

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक लिमिटेडलाई थप उत्कृष्टताका साथ समृद्धिको बाटोमा सँगै अगाडि बढ्नका लागि सिभिल बैंकलाई प्राप्ति गरेको बताए।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजी ३४ अर्ब पुग्ने छ । बैंकको २७४ अर्ब कुल निक्षेप र २५० अर्ब कुल कर्जा पुग्ने बैंकले जनाएको छ ।

दिगो र सशक्ताको नयाँ समय भन्ने मूल नाराका साथ अघि बढेको बैंकको एकीकृत कारोबारपछि शाखा सञ्जाल १८९ पुग्ने छ । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सिभिल बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

एकीकृत कारोबारपश्चात् हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बन्नेछन् । फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् ।

मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए ।

प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाडौंको कमलादीमा रहनेछ । एकीकृत कारोबार सुरु गर्न सिस्टम अपग्रेड र डाटा माइग्रेसनका लागि हिमालयन बैंकको फागुन ८ गते सन्ध्याकालीन काउन्टर सेवा, फागुन १० गते र फागुन ११ गते बैंकिङ सेवा बन्द रहेको थियो। सिभिल बैंकको सम्पूर्ण शाखा कार्यालय फागुन ८ गतेदेखि फागुन ११ गतेसम्म बन्द रहेको थियो।

उक्त अवधिमा हिमालयन बैंकबाट जारी भएका एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहनेछन्। सिभिल बैंकबाट जारी भएका एटीएम कार्डहरुमार्फत हुने कारोबारका साथै दुवै बैंकका मोबाइल बैंकिङ एप र इन्टरनेट बैंकिङ सेवा भने सो अवधिमा बन्द रहेको थियो।

एकीकृत कारोबारपश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने हुँदा आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिन बैंकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स