साहस ऊर्जाको आइपीओ आजदेखि, कति कित्ता आवेदन दिने

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबार (आज)देखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने प्रारम्भिक सेयरमध्ये ५ प्रतिशत अर्थात् ३लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् ।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला ९दूधकोशी० जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै ,अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब पचास करोडको प्रतिसेयर एक सय अंकित दरले हुने तीन करोड पचास लाख कित्ता सेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सोअनुसार प्रतिसेयर एक सय अंकित मूल्यको ३५ लाख कित्ता साधारण सेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँटसमेत भइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स