काठमाडौं उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको छ । नेपालीहरुको चाड, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाइएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने बताए ।

महाशाखाका अनुसार दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिका बमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरुमा २४ सै घण्टा चेकजाँच हुने गरेको छ ।

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवनगरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए ।

थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजु बाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ। मुख्यत लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।

यसैबीच चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने योजना रहेको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स