काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई पहिलो पटक नै १५ सय जरिवाना तिराउने नियम फिर्ता भएको छ । कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरू आन्दोलन गरेका थिए । उनीहरू आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकपछि पहिलो पटक नै १५ सय जरिवाना तिराउने नियम लागू नगरी ऐनमा भएको व्यवस्था बमोजिम जरिवाना गर्ने सहमति भएको हो ।,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मन्त्रालयमा भएको बैठकले अबदेखि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को व्यवस्था बमोजिम ट्राफिक जरिवाना गर्ने सहमति भएको बताएको छ ।
महासंघले पहिलो पटक नै १५ सय को चिट काट्ने नियम गैरकानुनी छ भन्दै आएका थियो । छलफलपछि अब ऐन कै व्यवस्था अनुसार ट्राफिक जरिवाना हुने सहमति भएको छ, त्यो नियम हिजो सोमबारबाट भइसकेको छ ।
ऐनमा भएको व्यवस्था अनुसार पहिलो पटक ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई १५ सय जरिवाना गर्ने सकिने छ ।