काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँबराबरको सेयर बिक्री गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गर्नेछ। यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र नौमुलेद्वारी–३ दैलेखका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र त्यसबाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ।
१ लाख ८ हजार ८ सय ११ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्कासन हुने छ ।
वैदेशिक रोजगारीमा रहेकाले यो आईपीओमा फागुन २५ गते गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द भने छिटोमा फागुन २५ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि हुने भनिएको छ।
दुवै समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । सेयर निष्कासनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
भूगोल इनर्जीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।