काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताको उच्च आशालाई सम्बोधन नगरेको बजारले प्रदर्शन गरेको छ।
उक्त समीक्षामा केन्द्रिय बैंकले लगानीकर्ताले गरेका मागहरु १२ करोडको सिमा सम्बोधन गरेन जसले गर्दा लगानीकर्ताहरु निराश देखिएका छन्।
मौद्रिक नीतिको समीक्षामा सेयर धितो कर्जाको सिमा बढ्ने, जोखिम भारित औसत घटाउने लगायतका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको थियो तर ती मागहरु सम्बोधन नहुँदा बजार नकारात्मक देखिएको छ।
यता वाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर नघटाउने निर्णय गर्दा पनि बजार सकारात्मक हुन सकेको छैन।
आइतबार बजार खुलेदेखि नै ४० अंकको हाराहारीले घटेको नेप्से सूचक यस दिन नेप्से सूचक ६०.७७ अंकले घटेर २१२१.८६ विन्दुमा बन्द भएको छ। आइतबार कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। यस दिन आज ८१ लाख ३९ हजारको कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।
यस दिन कारोबारमा आएका सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।
त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ ।