नाफिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, तीन दर्जनबढी व्यक्तिको सहभागिता

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएपछि नफिजले अग्रसरता लिएर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बुद्धनगर टोल सुधार समितिको प्रांगण (सुवर्ण पार्क)मा आयोजित रक्तदान कार्यक्रममा तीन दर्जन व्यक्तिले रक्तदान गरेका थिए । काठमाडौं महानगरपालिकाको सहयोग तथा बुद्धनगर टोल सुधार समिति र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी बन्न पुगेका बागमती प्रदेशसभा सदस्य तथा काठमाडौं क्षेत्र नं. १‘क’ का सांसद दिपेन्द्र श्रेष्ठले नाफिजको अग्रसरताको सराहना गरे । नाफिज र यसका सदस्यहरुले आर्थिक पत्रकारिताको माध्यमबाट आर्थिक तथा वित्तीय क्षेत्रमा योगदान गरेको स्मरण गर्दै श्रेष्ठले सामाजिक क्षेत्रप्रति आफ्नो दायित्व सम्झिएर गरेको रक्तदान कार्यक्रमले अभावमा सहयोग गर्ने विश्वास गरे ।

‘स्थानीय समुदायसँग सहकार्य गर्ने तपाईंहरुको सोचलाई सम्मान गर्न चाहन्छु,’ प्रदेशसभा सदस्य श्रेष्ठले भन्नुभयो, ‘तपाईंहरुसँग समन्वय गरेर सामाजिक क्षेत्रमा थप गतिविधि गर्न चाहन्छु ।’

श्रेष्ठले काठमाडौं क्षेत्र नं. १‘क’ लाई स्वास्थ्य प्रबर्धन क्षेत्रको रुपमा विकास गर्न चाहेको पनि जानकारी गराए । श्रेष्ठकै पहल तथा समुदायको सहयोगका कारण विभिन्न व्यक्तिले अतिक्रमण गरेको सार्वजनिक जग्गालाई राज्यको स्वामित्वमा ल्याएर बुद्धनगर टोल सुधार समितिको भवन बनेको हो । ‘महामारीको बेलामा व्यक्तिगत, सामाजिक र जनप्रतिनिधिको पहलमा यो भवनमा नर्सिङ सेवा प्रदान गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तपाईं पत्रकार साथीहरुबाट पनि सहयोगको अपेक्षा गरेको छु ।’

कार्यक्रममा नाफिजका उपाध्यक्ष मेनुका कार्कीले नाफिजले आर्थिक पत्रकारको क्षमता विस्तारका निमित्त विविध गतिविधि गर्दै आएकामा समाजप्रति पनि दायित्व सम्झेर पटकपटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा बुद्धनगर टोलसुधार समितिका अध्यक्ष मान कुमारी श्रेष्ठ, काठमाडौं वडा नं. १० का वडासदस्य रोहिणी श्रेष्ठ, बुद्धनगर टोलसुधार समितिका सल्लाहकार मकरलाल श्रेष्ठ तथा भक्तपुर रेडक्रसका तर्फबाट इन्चार्ज श्रीकृष्ण प्रजापतिको उपस्थिति थियो ।

नाफिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा भदौ ३१ गते रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स