काठमाडौं। नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याज दर यथावत राख्ने निर्णय गरेको छ । आज बिहानको बैठकले फागनु महिनामा ब्याजदर यथावत राख्ने निर्णय गरेपनि राष्ट्रले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिने नीतिगत ब्याजदरमा भर पर्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्ने बुझिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नीतिगत दरहरू घटायो भने बैंकहरू ब्याजदर घटाउने छन् । यदि राष्ट्र बैंकले नीतिगत ब्याजदरलाई चलाएन भने आज गरेको निर्णयले नै निरन्तरता पाउने छ ।
अहिलेको सिनारियो हेर्दा राष्ट्र बैंकले नीतिगत ब्याजदरको विषयमा कुनै कुरा सम्बोधन हुने देखिदैन । तै पनि नीतिगत परिवर्तन गर्यो भने चाहिँ ब्याजदर घट्छ ।
संघले माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिले साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दर कायम रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अधवार्षिक समीक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।
बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए। एनबीएले यो माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ।