सालको पातको दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना-टपरी बेचेर मासिक २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना-टपरी बनाउने पेसा अँगालेको हो ।

घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना-टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु’, थापाले भनिन् ।

सुरुमा दुना-टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उनले सुनाइन् । ‘जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक २० हजार आम्दानी गर्ने भएकी छु’, उनले भनिन् ।

लालीगुराँस दुना-टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गरेकी छिन् । सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छिन् । ‘एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे’, उनले भनिन्, ‘अहिले एक्लै उद्योग चलाएकी छु ।’

सालको पातबाट बनाइने दुना-टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना-टपरी जाने गरेका छन् । हातैबाट दुना-टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । एक लाख ५० हजारको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छिन् ।

पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताइन् । ‘गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते’, उनले विगत सुनाउँदै भने, ‘दुना-टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।’

पटना क्षेत्रमा जंगल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जंगलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उनी आफैं दंग छिन् । विशेषगरी उनले बनाएका दुना-टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना-टपरीको माग हुने गरेको छ ।

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छिन् । एक सय पातको ४० दिने गरेको उनले बताइन् । थापाले बेच्ने प्रतिदुना-टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना-टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन् । आफू जनप्रतिनिधि हुँदा पटक-पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

‘स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना-टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो’, उनले भनिन् ।

बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उनको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उनले बाणगंगा नगरभित्र रहेका दुना-टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गरिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स