१८ निर्जीवन बीमा कम्पनीले ६ महिनामा गरे २० अर्बको व्यवसाय, बागमतीको हिस्सा ६७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पुष महिनासम्म निर्जीवन बीमा कम्पनीहरूले २० अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले चालु आवको पहिलो ६ महिनामा आर्जन गरेको बीमा शुल्क गत आवको सोहि अवधिको तुलनामा ९८ करोड ४३ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सो अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको पुस महिनामात्रै निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

गत आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जिवन बीमा कम्पनीहरूको व्यवसाय एक महिनामा ५६.६५ प्रतिशतले बढेको हो ।

मंसिर महिनाको तुलनामा १८ निर्जीवन बीमा कम्पनीमध्ये ३ कम्पनीको व्यवसाय खस्किएको छ भने अधिकांश कम्पनीको बीमा व्यवसायमा सुधार देखिएको छ । व्यवसाय घट्ने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स रहेको छ । बीमा व्यवसाय घट्ने कम्पनीहरूमा युनाइटेडको ५.३० प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ९.७३ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १६.८३ प्रतिशतले घटेको छ ।

पुष महिनामा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स लिमिटेड रहेको छ । कम्पनीले पुष महिनामा एक अर्ब ११ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शिखर इन्स्योरेन्सले २ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

चालु आवको यो अवधिसम्म सबैभन्दा कम बीमा व्यवसाय गर्ने कम्पनीमा नेशनल इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीले यो अवधिमा ४९ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुसमहिनामात्रै कम्पनीको व्यवसाय भने ८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, मर्जरपश्चात् बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि पुष महिनामा मात्रै ४० करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले मंसिर महिनाको तुलनामा ११० प्रतिशतले बीमा ब्यवसाय बढाएको हो । अघिल्लो महिनामा हिमालयन एभरेष्टले १९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

नेको इन्स्योरेन्सले पनि पुष महिनामा २६ करोड ७३ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनाको तुलनामा १३.३१ प्रतिशतले बीमा ब्यवसाय बढेको छ ।

बागमतीमा सबैभन्दा बढी व्यवसाय

निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमध्ये दुई तिहाईभन्दा बढी व्यवसाय बागमती प्रदेशको रहेको छ । चालु आव भएको निर्जीवन व्यवसायमध्ये बागमती प्रदेशमात्रै ६६.७० प्रतिशत ( १३ अर्ब ३९ करोड ६३ लाख) व्यवसाय भएको छ ।

बढी बीमा व्यवसाय हुने प्रदेशमध्ये दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशको बीमा व्यवसाय भने १ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ रहेको छ । त्यसरी नै प्रदेश १ ले १ अर्ब ७२ करोड, मधेश प्रदेशले १ अर्ब २५ करोड, गण्डकी प्रदेशले १ अर्ब १४ करोड र कर्णाली प्रदेश र सुदूरपश्चिमको निर्जीवन व्यवसायभ ने करोडमा सीमित रहेको छ ।

सुदूरपश्चिम चालु आवको पहिलो ६ महिनामा ५२ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ भने कर्णाली प्रदेशमा १८ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स