कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताइन् । स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउन छ महिला सामूहिकरुपमा लागेका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाले प्रदान गरेको तालिममार्फत अचार बनाउन सिकेको उद्योगकी अध्यक्ष भट्टराईले बताइन् । ‘हातमा सीप नहुँदा घरमै बसेर दिन कटाउन बाध्य थियौं । घरेलु कार्यालयले अचार बनाउने तालिम दियो । यही सीपलाई व्यवसायमा जोडेका हौं’, उनले भने । आफूसहित छ महिलाको सक्रियतामा उद्योग सञ्चालन भएको उनले बताइन् ।
वाार्षिकरुपमा अचार बिक्री गरेर घर खर्चा चलाउँदै आएका यी महिलालाई बालबच्चाको पढाइदेखि आफूलाई आवश्यक परेका सामान किन्न सहज भएको छ । ‘आफ्नो कमाइ नहुँदा घरका श्रीमान्सँग आश्रित हुनुपर्ने थियो । अहिले त्यो बाध्यता हटेको छ’, भट्टराईले भनिन् । घरको काम सकेर रहेको फुर्सदिलो समयमा अचार बनाउने गरेको उनले जनाइन् ।
बुद्धवाटिका उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर अर्घाखाँची, प्युठान, दाङ, नेपालगञ्ज, बुटवललगायत सहरमा हुने गरेको छ । जिल्लाभित्र र बाहिर लाग्ने औद्योगिक मेलामा समेत अचारको माग बढ्दोे छ । अचार उद्योगबाट वार्षिक १० हजार किलोग्रामसम्म उत्पादन हुने गरेको छ । उद्योगमा विभिन्न ब्राण्डका अचार उत्पादन हुने गरेको छ ।
उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेलालगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बासको तामा, टिमुर, लसुन, करेलालगायतका सामान बुटवलबाट आउने गरेको उद्योगले जनाएको छ ।
सुरुआती चरणमा अचारले राम्रो बजार पाउन नसके पनि आजभोलि बजारको खासै समस्या नहुने सञ्चालक मीना बेल्वासेको भनाइ छ । अचार बनाउन धेरै लगानी लगाउन नपर्ने बेल्वासेले बताइन् । आफ्नै गाउँघरमा उत्पादन भएका अचार प्रयोग गर्न उनको सुझाव छ । ‘हामीले कुनै केमिकल प्रयोग गर्दैनौं, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ’, उनले भनिन् ।
ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । चार सय ग्रामसम्मको मिक्स अचारलाई एक सय रूपैयाँसम्म पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य दुई सय ५० रूपैयाँसम्म पर्छ ।
उद्योगमा उत्पादित अचारको व्यवसायलाई थप फष्टाउने योजना रहेको अध्यक्ष भट्टराईले सुनाइन् । महिला मात्र संलग्न रहेको कारण बजारलाई व्यवस्थित पार्न नसकिएको उनले बताइन् । आगामी नयाँ वर्षदेखि बाँकेको परान्चु अचार उद्योगसँग सहकार्य गरी व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
‘उत्पादित अचारलाई वनारससम्म लैजान सकेका छैनौं । महिला मात्र भएको कारण बजारको समस्या छ । बाँकेको परान्चु अचार उद्योगसँग समन्वय गरिरहेका छौं, अब त्यही उद्योगले अचार लैजाने आशामा छौं, उनले भने । महिलाले गरेको सामूहिक उद्यमलाई बुद्धभूमि नगरपालिकाले समेत सहयोग गर्दै आएको छ ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले अचार उद्योगलाई वार्षिकरुपमा अचार बनाउने तालिमका लागि बजेट छुट्याएर सहकार्य गरेको बताए । ‘सिधै बजेट दिएका छैनौं, तालिममार्फत सहकार्य गरिरहेका छौं’, उनले भने ।