काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमा साढे १ लाखबढीको आवेदन परेको छ । कम्पनीले आज (माघ १३ गत) बाट सर्वसाधारणका लागि निष्कासनमा ल्याएको सेयरमा १ लाख ५८ हजार २३ जनाको आवेदन परेको हो ।
सिडिएस एण्ड क्लियरिङका अनुसार आज दिउँसोसम्ममा १ लाख ५८ हजार २३ वटा आवेदकबाट १८ करोड १७ लाख ८२ हजार रुपैयाँ बराबरको १८ लाख १७ हजार ८२० कित्ता सेयरको लागि आवेदन परेको हो ।
जुन सर्वसाधारणलाई निष्कासन गरेको १९ लाख ९२ हजार कित्ता सेयरको ९१.२५ प्रतिशत मात्रै हो ।
कम्पनीले आजदेखि सर्वसाधारणलाई १९ लाख ९२ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता सेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
यस निष्कासनमा सर्वसाधारणले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको पति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।