साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

काठमाडौं । आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ । शरीरभित्रका रहेका खराब वस्तु (विकारण तत्व) फाल्न र कामबाट थकित भएका मानिसहरु एकछिन भए पनि शरीरलाई आनन्दका लागि स्पा, साउना, स्टिम र जाकुजीतर्फ आकर्षित हुन थालेका छन् ।

यसमा मानिसहरुलाई तातो पानी बस्ने, पानीको बाफ, सुक्खा तातो विधिबाट शरीरलाई आनन्दमय बनाउने गरिन्छ । आयुर्देव तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले मानिसलाई तनाव व्यवस्थापन गर्न र आनन्द बनाउन स्पा, साउना, स्टिम र जाकुजी जस्ता गर्ने गरेको बताए । ‘ती विधिबाट मानिसको उपचार नै हुन्छ भन्ने हुन्न,’ उनले भने, ‘तर मानिसलाई थकाइ तथा तनाव भएको बेला आनन्दको अनुभव हुन्छ ।’

चिकित्सकहरुले पनि मानिसलाई तनावबाट टाढा रहनका लागि स्पा, साउना, स्टिम र जाकुजी गर्नका लागि सिफारिस गर्ने गरेको पाइन्छ । यस्ता सेवा दिने अधिकांश संस्थाहरु दर्ता बिना नै सञ्चालनमा रहेकाले तिनलाई दर्ता गराउने तयारीमा रहेको महानिर्देशक डा. उपाध्यायले बताए । छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेलले स्पा, साउना, स्टिम, जाकुजीले मानसिक तथा शारीरिक रुपमा आनन्द बनाउने बताए । उनका अनुसार केही निश्चित समयमा स्पा, साउना, स्टिम, जाकुजीमा बस्ने हो भने आनन्दका साथै शरीरलाई पनि फाइदा गर्दछ । उनले हप्तामा एक वा दुई पटक साउना, जाकुजी, स्टीम र स्पा गएमा शरीरलाई आनन्द बनाउन सकिने धारणा राखे ।

नेपाल वेलनेस एन्ड स्पा एसोसिएसनका अध्यक्ष तथा ट्र्याङक्युलिटी स्पाका कार्यकारी निर्देशन सुरेश पुरी चिकित्सकले सिफारिस गरेका मान्छेहरु पनि स्पा, साउना र जाकुजी लिन आउने गरेको बताए । उनले दिनभरिको थकान तथा मानसिक थकान मेटाउन मानिसहरु ‘रिल्याक्स’ हुन बढी आउने गरेको बताए ।

साउना, स्टिम र जाकुजी गर्न छाला, हाड जोर्नीसम्बन्धी बढी समस्या भएका मानिसहरु आउने गरेको उनको भनाइ छ । उनका अनुसार देशभरिमा ६ सय ५० स्पा सेन्टर रहेका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौंमा नै रहेका छन् । अधिकांश तारे होटेलहरुमा यो सेवा रहेको छ ।

जोर्नी दुखेको र छालासम्बन्धी रोग भएका बिरामी स्टिम र साउनाले फाइदा गर्ने उनले बताए । बाथ रोग, दुखाइ, सुन्निनेलाई पनि फाइदा गर्दछ । हप्तामा एक–दुई पटक साउना, स्टिम र जाकुजीले मानिसलाई आनन्द बनाउनुको साथै शरीरमा रहेका विकारणलाई फाल्ने उनले बताए । उनका अनुसार साउना, स्टिम र जाकुजीमध्ये एक विधि गर्नका लागि एक हजारदेखि एक हजार पाँचसय रुपैयाँसम्म पर्ने गर्दछ ।

ट्र्याङक्युलिटी स्पामा दैनिक २०–२५ जना मानिस शरीरलाई आनन्द बनाउनका लागि आउने गरेको उनले बताए । स्पा एसोसिएसनका अध्यक्ष पुरीले नेपालमा बेलनेसको गन्तव्य स्थल बनाउने सके धेरै पर्यटन नेपाल आउने बताए । सरकारी कलेजमा अध्ययनरत विद्यार्थीलाई तीन महिनाको तालिम दिएर रोजगारी पनि दिने गरेको उनले जानकारी दिए ।

पानीबाट गरिने उपचार पद्धतिलाई ‘स्पा’ पनि भनिन्छ । स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि हो । कुनै बेला युरोपेली मुलुकहरुले जमेको पानी अथवा झरनामार्फत उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो । स्पाले मानिसलाई स्वस्थ्य बनाउनाका साथै रक्तसञ्चार बढाउने, रोगसँग लड्न सक्ने क्षमता बढाउने, थकान कम गराउने, खानामा रुचि जगाउने र निन्द्रा लगाउन मद्दत गर्ने यसका प्रयोगकर्ताहरु बताउँछन् ।

सामान्यतः स्पा तीन घण्टाको हुन्छ । स्पाले स्नायु प्रणालीलाई पुनर्ताजगीसमेत काम गर्ने अध्यक्ष पुरीको भनाइ छ । उनका अनुसार स्पाले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गर्न मद्दत गर्छ । स्पाले शरीरका विषाक्त पदार्थहरु निकालेर प्रतिरोध क्षमता बढाउँछ र रक्तसञ्चारलाई ताजा राख्छ ।

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।

स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा एक–दुई पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन मद्दत मिल्छ ।

स्टिम र साउनामा १५–१५ मिनेट बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ ।

जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि हो । यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहोर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ ।

स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, शरीरले आनन्द महसुस गराउने गर्दछ । जोर्नीहरु कडा भएर हिँड्डुल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नीहरु खुकुलो बनाउने गर्दछ । नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना राम्रो विकल्प हो ।

गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ । गर्मी महिनामा भने स्टिम र साउनाले शरीरबाट पसिना निकाली स्वस्थ बनाउने गर्दछन् ।

स्पा एसोसिएसनका अध्यक्ष पुरीले गर्मीभन्दा पनि जाडो याममा स्पा, स्टिम, साउना र जाकुजीले शरीरलाई फाइदा गर्ने बताए । ‘जाडोयाममा मानिसहरुको हिँड्डुल पनि कम हुने र शरीर पनि त्यति चलायमान हुँदैन’, उनले भने, ‘जसले गर्दा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन । स्पा, स्टिम, साउना र जाकुजीले शरीरको रक्तसञ्चार गराउन मद्दत पु¥याउँछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स