‘६ महिनामा बैंकहरूले साढे ३ खर्ब निक्षेप संकलन गर्न सकेमात्रै राष्ट्र बैंकबाट अपेक्षित कर्जा प्रवाह गर्ने सकिन्छ’

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षमा ५३० अर्ब निक्षेप संकलन गर्नुपर्ने देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको कर्जा वृद्धि गर्नको लागि वाणिज्य बैंकहरूले सो निक्षेप संकलन गर्नुपर्ने देखिएको हो । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले चालु आवमा बैंकहरूले ५ खर्ब ३० अर्ब निक्षेप संकलन गर्न सक्नु पर्ने बताए । ‘पहिलो ६ महिनामा १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ,’ उनले भने ‘असारमसान्तको तुलनामा अहिलेसम्म जम्मा निक्षेप वृद्धिदर ३.८५ प्रतिशत रहेको छ ।

यसलाई बढाएर १०० प्रतिशत पुर्याउन अझै ३ खर्ब ५५ अर्ब निक्षेप संकलन गर्नुपर्ने देखिएको छ । ‘अहिले भएको निक्षेप संकलन अनुसार अझै बैंकहरूले ३ खर्ब ५५ अर्ब निक्षेप संकलन गर्नुपर्छ,’ उनले पत्रकारसँको भेटघाट कार्यक्रममा भने अनिमात्र राष्ट्र बैंकले राखेको कर्जाको वृद्धिदर भेटाउन सकिन्छ । आशा गरौं पछिल्लो समय तरलता सहज हुँदै गएको छ । सम्भवत सो निक्षेप संकलन गर्न सकिन्छ भन्ने हो ।’

असारमसान्तसम्म ४५ खर्ब ४१ अर्ब रहेको वािणज्य बैंकहरूको निक्षेप संकलन पुसमसान्तमा आईपुग्दा जम्मा १ खर्ब ७५ अर्ब रुपैयाँले बढेर ४७ खर्ब १६ अर्ब पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन पनि २.९३ प्रतिशतले वृद्धि भएको छ भने आवमा ८.०९ प्रतिशतले वृद्धि भएको थियो ।

वाणिज्य बैंकहरूको चालु आवको पहिलो ६ महिनामा कर्जा विस्तार दर ३.८५ प्रतिशत रहेको छ । राष्ट्र बैंकले भनेको जस्तो निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्न अझै ४ खर्ब २३ अर्ब कर्जा लगानी गर्नुपर्ने हुन्छ । चालु आवको पहिलो ६ महिनासम्म बैंकहरूले जम्मा १ खर्ब ३ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रहेको बैंकहरूको कर्जा प्रवाह पुसमसान्तसम्म बढेर ४२ खर्ब ७८ अर्ब पुगेको छ ।

गत आार्थिक वर्षको सोही अवधिमा कर्जा ११.३७ प्रतिशतले वृद्धि भएको थियो भने वर्षभरिमा १२.२१ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्षदेखि नै कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन अत्यन्त कम भएकोले बजारमा लगानी योग्य पुँजीको अभाव भयो र बैंकहरूले कर्जा नै दिन सकेनन् । कर्जा प्रवाहको अनुपातमा निक्षेप संकलन हुन सकेमात्रै बैंकहरूले चाहेको जति कर्जा प्रवाह गर्न सक्ने हुन् ।

गत आवको मौद्रिक नीतिले निजीक्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशतले हुन सक्ने प्रक्षेपण गरेपनि वर्षभरिमा जम्मा १२.२१ प्रतिशतमात्रै कर्जा प्रवाह भएको छ । त्यसको अघिल्लो आव २०७७/७८ मा भने बैंकहरूले २८.१७ प्रतिशतले कर्जा विस्तार गरेका थिए भने २०.४९ प्रतिशतले निक्षेप संकलन गरेका थिए ।

सो आवमा अत्यधिक कर्जा विस्तार हुँदा कोभिडका कारणले उद्यमी व्यवसायीले बैंकबाट लिएको कर्जा भुक्तान गर्न नसक्दा गत वर्ष र यो वर्षको हालसम्म बैंकहरूले चाहेर पनि कर्जा विस्तार गर्न सकेका छैनन् भने पछिल्लो दुई महिना कर्जामा भएको ब्याजदर वृद्धिका कारणले उद्यमी व्यवसायीले पनि कर्जा लिन खासै चासो देखाएका छनन् । सो कारण बैंकलाई एकातिर निक्षेप संकलन बढाएर कर्जा बढाउनु पर्ने चुनौती छ भने अर्कोतर्फ अर्थतन्त्र चलायमान बनाउन ब्याजदर कम गर्नुपर्ने बाध्यता छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स