सुस्मिता हत्याको आरोपमा ससुरासहित ५ जनालाई जन्मकैद सजाय

काठमाडौं । जिल्ला अदालत मकवानपुरले २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको इजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको परिवारले आत्महत्या देखाउने प्रयास गरेको थियो । पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बीमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स