साढे ६ गुणाले घट्यो पुँजीगत लाभकर

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पपुँजीगत लाभकर संकलन गरेको छ । सरकारले संकलन गरेको सो राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ६ गुणाले कम हो । सीडीएस एण्ड क्लियरिङ हाउसले गत आवको साउनदेखि पुसमम्मको अवधिमा ८ अर्ब ६ करोड ७६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । चालु आर्थिक वर्षका संकलन भएको पुँजीगत लाभकर गत आवको सोही अवधिको तुलनामा ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको पुस अगाडिबाटै सेयर कारोबार घट्न थालेपनि वर्षभरिमा जम्मा सो संकलित लाभकरमा साढे २ अर्ब राजस्व थपिएर करिब साढे १० अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्ष लागेपछि पनि धितोपत्र बजारमा सुधार नदेखिदा यसको असर पुँजीगत लाभकरमा परेको हो । सेयर मार्केट धरासयी हुँदै जाँदा सरकारको राजस्वमा समेत असर परेको देखिएको छ ।

सीडीएससीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा संकलन गरेको पुँजीगत लाभकरमा छोटो समयका लगानीकर्ताले बढी लाभकर तिरेको देखिएको छ भने लामो समय लगानी गर्ने लगानीकर्ताले थोरै लाभकर तिरेको देखिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताए ।

‘हाल बजारमा छोटो समयका लागि ट्रेड गर्ने ट्रेडरहरू बढी देखिएका छन्,’ उनले भने ‘यस्तो अवस्था आउनु भनेको बजारमा स्थायित्व नहुनु हो । सेयर बजार तल ओर्लदा यसको असर राजस्वमा परेको छ ।’ गत वर्षको यो अवधिमा प्रशस्त राजस्व संकलन भएको थियो अहिले बजार सुस्ताउँदा राजस्व संकलनमा गिरावट आएको छ,’ उनले थपे ‘अब बजारले राम्रो भयो भने बाँकी अवधिमा पनि राम्रै राजस्व संकलन गर्न सकिन्छ ।’ छोटो समयको कारोबार बढ्नु भनेको बजारमा लगानीकर्ताभन्दा ट्रेडरहरू बढी हुुनु हो । त्यसैले पनि १ वर्षभन्दा कमको सेयर कारोबारबाट लाभकर बढी उठेको हो ।

चालु आवको समीक्षा अवधिमा छोटो समयमा सेयर किनबेच गर्ने लगानीकर्ताले ७४ करोड ४१ लाख ५३ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् भने लामो समय लगानी गर्ने अर्थात १ वर्षभन्दा बढी अवधिको ट्रेडरले ४९ करोड १५ करोड ५८ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेको देखिएको छ ।

सरकारले १ वर्षभन्दा छोटो अवधिमा सेयर किनबेच गर्नेलाई ७.५ प्रतिशत र सो अवधिभन्दा माथिको समय अर्थात लामो समयपछि सेयर कारोबार गर्नेलाई ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स