काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णयको नाडाले स्वागत गरेको हो ।
‘त्यसैगरी सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेको छ’। नेपाल राष्ट्र बैंकको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने नाडाको भनाइ छ ।
‘तथापि नाडाबाट राखिएका अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्वि गरिनुपर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन हुन सक्दैन’, नाडाले भनेको छ, ‘त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव देशको राजश्वमा परिरहने देखिएकोले उल्लेखित विषयहरुमा पनि सम्बोधन हुदै जादै अपेक्षा हामीले राखेका छौं । साथसाथै चालु पुंजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधनका लागि नेपाल राष्ट्र बैंकसंग हार्दिक अनुरोध गर्दछौं।’