प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु

काठमाडौं । प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेरेटर कार्यक्रम सुरु भएको छ । आज एक पत्रकार सम्मेलन गर्दे प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा उद्यमहरूलाई लक्षित गर्दै ‘आध्यन्त एक्सिलेरेटर कार्यक्रम’को सुरुवात गरिएको हो ।

विराटनगरस्थित बिग होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य महासंघ केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, प्रदेश कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेल, प्रदेश लगानी प्राधिकरणका सिइओ डा. सरोज कोइराला, सहज कार्यक्रमका टिम लिड रिक भान डेर क्याम्प र आध्यन्तका संस्थापक मनोज पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

यससंगै कार्यक्रममा सहभागी हुनको लागि प्रदेश नं. १ का कृषि उद्यमीहरूबाट आवेदन आव्हान गरिएको थियो । साथै प्रदेश न. १ मा लगानी प्रवर्द्धनका लागि प्रदेश लगानी प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, सहज परियोजना र आध्यन्तबीच औपचारिक समझदारी गर्ने प्रक्रिया अगाडी बढेको जनाइएको छ ।

यस कार्यक्रमको प्राथमिक लक्ष्य प्रदेश १ का कृषि व्यवसायहरूको क्षमता बढाई उनीहरूलाई थप लगानी प्राप्त गर्नका लागि पूँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ । प्रदेश १ पर्यटन, कृषि, व्यापार र उद्योगमा अग्रणी प्रदेश हो । यस प्रदेशमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गरी समृद्ध प्रदेश बन्ने ठूलो अवसर रहेको छ ।

तथापि त्यसको उचित लाभ लिन सकिएको छैन । एक्सेलरेटर कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्नेछ । जसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यवसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्नेछ ।

कार्यक्रमले कृषि–उद्यमीहरूलाई व्यवसायिक वृतमा तथा वृत भन्दा बाहिर रहेका उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्न मद्दत हुनुका साथै थप रोजगारी सिर्जना गर्न मद्दत गर्ने उद्देश्य लिएको छ । यसअघिका एक्सिलेरेटर कार्यक्रमहरू राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासोबीच आध्यन्त एक्सिलेरेटर कार्यक्रम नेपालमै पहिलो पटक राजधानी बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागिरहेको हो ।

यसबाहेक नेपालमै पहिलो पल्ट सार्वजनिक निजी साझेदारीको मोडलमा एक्सिलेरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो । यसमा प्रदेश सरकारको तर्फबाट प्रदेश लगानी प्राधिकरण, निजी क्षेत्रको सबैभन्दा ठूलो र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ लाई समेटेको छ ।
प्राप्त आवेदानहरूबाट १० वटा उद्यमीहरुलाई छनौट गरि १२ हप्ता सम्म पूँजी, बजार पहुँच, र विविध प्राविधिक लगायतका आन्तरिक चुनौतिहरू केन्द्रित परामर्श प्रदान गरिने छ ।

यस एक्सेलरेटर कार्यक्रमले व्यवसायिक वृतमा रहेका विभिन्न सरोकारवालाहरूले एक आपसमा गर्ने अन्तरक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ । साथै यसले उद्यमीहरूलाई उनीहरूको व्यवसायिक पर्यावरणभन्दा बाहिरको सहयोग र स्रोतहरूको साथै सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत सञ्जाल सम्म पहुँच समेत प्रदान गर्नेछ । आवेदनका लागि मिति २०७९ माघ ४ गते देखि १८ गते सम्म खुला गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स