काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले माघ १५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ । प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरूमा १ लाख १४ हजार कित्ता सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।