पत्रकारिता क्षेत्रले एउटा नक्षत्र गुमायो: अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विमान दुर्घटनामा महासंघका केन्द्रीय सदस्यसमेत रहेका पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखामा आज स्व.पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रममा उनले पौडेलको निधनबाट समाज, पत्रकारिता क्षेत्र र पत्रकारले एक नक्षत्र गुमाएको उल्लेख गरे ।

उनले भने ‘पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । दुःखद् घटनामा एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकारलाई अल्पायुमै गुमाउन पुग्यौँ, महासंघले उदीयमान पत्रकार नेता गुमाएको छ ।’

अध्यक्ष पोखरेलले विमान दुर्घटनाका यस्ता घटना भविष्यमा हुन नदिन राज्य र राज्यका संरचनाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । स्व. पौडेलको निधनमा महासंघले १३ दिनसम्म शोकसभाबाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।

महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पौडेलको निधनले सबै सञ्चारकर्मीलाई शोकाकुल बनाएको बताए । पौडेलकै अग्रसरतामा शाखाको सुविधासम्पन्न भवन निर्माणलगायतका काम सम्पन्न भएको उनले स्मरण गरे ।

यही माघ १ गते काठमाडौंट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी पोखराका पत्रकार पौडेल र अनिल शाहीसहित ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म एक जनाबाहेक अन्यको शव फेला परेको हो ।

पौडेलको शव परिवारले पहिचान गरेपछि सोमबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी आज बिहान परिवारलाई हस्तान्तरण गरिएको थियो । अर्का पत्रकार शाहीको शव यहाँ पहिचान नभएपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

स्व पौडेलको अन्त्येष्टि अघि पार्थिव शरीर पत्रकार महासंघमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

स्व. पौडेलप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, पत्रकार महासंघका अध्यक्ष पोखरेल, निर्वतमान अध्यक्ष गोविन्द आचार्य, महासचिव रोशन पुरी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, प्रदेशसभाका सदस्य, राजनीतिक दलका नेता, सञ्चारकर्मी, उद्योगी एवं पर्यटन व्यवसायीलगायतले सयौँले श्रद्धाञ्जलि अर्पण गरेका थिए । पौडेलको शवयात्रासहित रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स