पूर्व आईजीपी ध्रुबहादुर प्रधान कानुन मन्त्री बने

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी ध्रुबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रीमा नियुक्त गरेका हुन् । नवलवरासी–२ बाट पूर्व गृहराज्य मन्त्री कांग्रेस नेता देवेन्द्रराज कँडेललाई हराए प्रधान संसद बने र मन्त्री पनि भए ।

नवनियुक्त मन्त्री प्रधानको काँधमा अब संसदबाट अनुमोदन हुने कानुनको मस्यौदा निर्माण गर्नुुपर्ने मूल जिम्मेवारी परेको छ । जबकी ४ मंसिरको चुनाव अगाडिसम्म ७४ वर्षीय प्रधान सक्रिय राजनीतिबाटै विदा हुने सोंचमा थिए ।

३० वर्ष नेपाल प्रहरीमा रहँदा सधैं कानुनको रक्षा उभिएका प्रधानले महानिरीक्षक भएर २०५३ देखि ०५४ सम्म प्रहरी प्रशासनको नेतृत्व गरे । प्रहरीको जागिरबाट अवकाश लिएपछि भने उनी राप्रपाबाट राजनीति गर्न थाले ।

२०५६ बाटै चुनाव लड्न थालेका प्रधान सधैं पराजित भइरहे । २०५६ र २०७० मा भने नवलपरासी–४ र ५ बाट उम्मेदवार बनेका थिए । ०७४ मा उम्मेदवार नै बन्न पाएनन् ।

तर, यसपटक तिनै आफूलाई सधैं हराउँदै आएका कँडेलविरुद्ध प्रधानले जिते । ३४ हजार ७६४ मत पाएर प्रतिनिधिसभा सदस्य जित्दा कँडेलले १९ हजार ५९४ मत ल्याएका थिए । २३ वर्ष लामो प्रयासपछि सांसद जितेपछि भने प्रधान मन्त्री नै बने । ०३६ को जनमत संग्रह हुँदा उनले काठमाडौं प्रहरीको नेतृत्व गरेका थिए । उनै प्रधान अहिले प्रचण्ड नेतृत्व सरकारबाट कानुन मन्त्री बनेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स