राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि टुंगो लाग्यो, कुन दलले पाउने भयो यी पद ?

सरकारले मन्त्रालयको भागबण्डा पछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखको पनि टुंगो लगाएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुखको टुंगो लगाएको हो ।

उच्चस्तरीय संयन्त्रको बैठकअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि हुनेछ । एमाले उच्च स्रोतका अनुसार झापा २ बाट निर्वाचित देवराज घिमिरेको सम्भावना बढी छ ।

सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराई पनि दावेदार हुन् । तर ओलीले घिमिरेलाई बनाउने संकेत गरेका छन् ।

सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ । रास्वपामा उपसभामुखको दावेदार सोभिता गौतम हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स