काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास स्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक ३ घण्टादेखि जारी रहेको छ । सत्ता साझेदारको बैठकले अझै मन्त्री परिषदको टुंगा लगाउन नसकेको हो ।
साँझ पौने ६ बजेदेखि सुरु भएको बैठक पौने ९ बजेसम्म पनि जारी रहेको हो । बैठकमा मन्त्रीको टुंगो लगाउनुका साथै सभामुख, उपराष्ट्रपतिको चयनलगायतका विषयमा छलफल रहेको बालुवाटार स्रोतले बताएको छ ।
सत्ता साझेदार दलको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो । बालुवाटार बैठकले प्रचण्ड र ओलीबीच मन्त्रीहरूको भागबण्डाअनुसार मन्त्री परिषद गठन हुने भनिएको छ ।
जसमा एमालेले २ राज्यमन्त्रीसहित सबैभन्दा बढी ८ मन्त्रालय पाउने छ । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपा र जसपाले २–२ वटा मन्त्रालय पाउने मोटामोटी समझदारी भएको छ । लोसपा र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत एक/एक मन्त्रालय दिएर ल्याउने तयारीमा प्रधानमन्त्री प्रचण्ड र ओली लागेको जानकारी हुन आएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।