सत्तारुढ दलबाट सूची आए प्रधानमन्त्री प्रचण्डले भोलि बेलुकासम्म मन्त्रीपरिषद् विस्तार गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका छन् । सत्तारुढ सबै दलबाट सूची आए भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

ओलीसँगको भेटपछि लगत्तै प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्। बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले सत्तारुढ दलका नेताहरूसँग मन्त्रीको नामावलीसमेत मागेका छन् । गृहमन्त्री लामिछानेसँगको भेटमा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रीको सूची मागेको स्रोतको भनाइ छ । रास्वपाले कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ‘सबै दलबाट सूची आए भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन सक्छ । प्रधानमन्त्रीजी सकेसम्म छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने सोचमा हुनुहुन्छ । सत्तारुढ दलको आन्तरिक विवादका कारण कसैले पनि सूची दिन सकेको छैन ।’

प्रचण्डले मन्त्रिपरिषद् बाहेक सभामुख र राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भइरहेको छ । कांग्रेसबाट समेत विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा विश्वासको मत दिने हलहरूलाई समेटेर सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न खोजेका छन्।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले विश्वासको मत पाएको ५ दिनबित्दा समेच मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीमन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र अब्दुल खान छन् । बाँकी मन्त्रीपरिषद् विस्तारको लागि प्रधानमन्त्रीले छलफल अघि बढाएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स