नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक-पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।
‘पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो’, संरक्षणकर्मी टेक महतोले भने, ‘यसले हामीलाई निकै हौसला दिएको छ ।’ महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए ।
‘नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौं’, उनले भने, ‘अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ ।’ उनले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताए ।
‘कहिले अमलटारीबाट दक्षिणमा रहेको मध्यविन्दु नगरपालिकाको नन्दपुर तथा सेहरीमा डल्फिन देखिएको सुन्छु, कहिले उत्तरतर्फ गैंडाकोट नगरपालिकाको पितौजीघाटमा डल्फिन देखिएको खबर आउँछ’, महतोले भने, ‘यी सबै ठाउँमा देखिएका डल्फिन एउटै हुन् वा फरक हुन् भन्नेबारे भने अध्ययन हुनसकेको छैन ।’ सन् २०१८ मा नारायणीमा डल्फिन देखिएपछि गत वर्षमात्रै चरा गणनाको बेलामा महतोले नै भेलौजी पोष्ट नजिक डल्फिन भेटेर फोटो खिचेको स्मरण गरे ।
‘सन् २०१८ मा डल्फिन भेटिएको सुनेको थिए, त्यसपछि सायद डल्फिन देखिएको थिएन’, उनले भने, ‘गतवर्ष चरा गणनाका बेलामा मैले भेलौजी पोष्ट नजिक दुई डल्फिन देखेको थिए ।’ यसपछि भने आफूहरु धेरैपटक डल्फिन देखेको महतोको भनाइ छ ।
अमलटारीघाटमा पटक–पटक डल्फिन देखिँदा पनि यसको स्थानीय प्रशासनले संरक्षणमा चासो नदेखाएको महतोले गुनासो गरे ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नारायणी नदीमा डल्फिन भेटिनु भनेको संरक्षणमा सकारात्मक कुरा भएको बताए । ‘यो सकारात्मक कुरा हो, हामीले नदीमा मान्छेको मुभमेन्ट कम गर्न सेना तथा निकुञ्ज प्रशासनको गस्ती बढाएका छौं’, उनले भने, ‘नदीमा आश्रित समुदायलाई माछा मार्न दिइएको भए पनि तियारी जाल प्रतिबन्ध गरेका छौं ।’ नदीमा तियारी जाल प्रयोग गरेर लुकिछिपी माछा मार्ने व्यक्तिलाई निकुञ्जले निकुञ्ज ऐनअनुसार कारबाही गर्ने गरेको तिवारीले बताए ।