आजबाट नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार, ३५ अर्बको चुक्ता पुँजी भएको बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको आजदेखि एकीकृत कारोबार सुरू हुँदैछ । आज पुस २७ गते यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुभारम्भ हुनेछ ।
मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो ।

दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ ।

मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग १००ः९० को स्वाप रेसियोमा मर्जरमा जान लागेको हो । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुनेको घटेर ९० कित्ता हुनेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब पुग्नेछ भने कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब , कुल कर्जा ३ खर्ब २९ अर्ब पुग्ने छ ।
योसँगै बैंकको २ सय ७९ शाखा र ग्राहक संख्या ३० लाग पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स