आजको मौसम : आंशिकदेखि सामान्य बदली

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ ।

विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल पहाडी भू-भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स