सिष्टम ह्याक भएर एक रातमै बैंक टाट पल्टने होइन, साइवर सुरक्षामा बैंकहरूले ठूलो लगानी गरिरहेका छन् : ज्ञानेन्द्र ढुंगाना

सिष्टम ह्याक भएर एक रातमै बैंक टाट पल्टने होइन, साइवर सुरक्षामा बैंकहरूले ठूलो लगानी गरिरहेका छन् : ज्ञानेन्द्र ढुंगाना

संसारभर प्रविधिको आधारमा व्यापार गर्ने देशहरूमा साइवर खतरा छ । जति जति प्रविधिमा आधारित व्यापार व्यवसाय बढ्न थाल्यो त्यति नै साइवर क्राइमको जोखिम पनि बढ्दै गएको छ । विशेषगरी बैंकिङ क्षेत्रमा यस्तो जोखिम उच्च छ ।
यस्तो जोखिमबाट हुने नोक्सान कम गर्न नेपालको बैकिङ क्षेत्रले सुरक्षित प्रणालीहरू लिने र थप फायरवाल थप्दै जाँदा यसमा ठूलो लगानी पनि गरिएको छ । यो गर्दा पनि शतप्रतिशत सुरक्षित भने हुन्छ भन्ने होइन । किन भने ह्याकरहरु हामीभन्दा एक पाइल अघि नै हुन्छन् ।

केही समय अघि सबै बैंकको सिस्टम ह्याक भएको छ भनेर हामीहरूलाई चेतावनी आयो । त्यो धम्की मात्र रहेछ । त्यसले बैंकहरूलाई थप सजकता अपनाउनुपर्छ भन्ने शिक्षा प्राप्त भयो । बंगलादेशमा भएको घटनाले हामीलाई धेरै ठूलो पाठ सिकाएको छ । त्यस कारण साइवर चुनौती सम्बन्धी कुरामा बैंकहरू प्रत्येक दिन सजक हुँदै जानुपर्छ ।

प्रविधिमा आधारित व्यापारिक गतिविधि बढेसँगै त्यसमा जोखिम बढेको हो । पुरानो बैंकिङ प्रणालीबाट इलेक्ट्रिक तथा प्रविधिमैत्री बैंकिङ मार्फत् सेवा शुरु भइसकेको छ । यसले जोखिम र खतरा बढाएको छ । प्रविधिमा साना जोखिम र खतरा आइराख्छन् ।

ठूलो अर्थतन्त्रमा साइवर हमलाको धेरै घटना पर्न सक्छ । धेरै घटनाको रिर्पोट हुँदैन । ठूला घटना मात्रको रिर्पोट हुन्छ । अहिलेसम्म नेपालमा त्यस्तो ठूलो घटना भइसकेको छैन । भएका घटनाबाट पनि हामीले ठूलो क्षति व्यहोर्नु परेको छैन । पुनः प्राप्ति गरेका छौं ।

यद्यपि घटना सानै भएपनि छिद्रहरूलाई टाल्दै जानुपर्छ । प्रणालीलाई थप मजबुत बनाउँदै जाने हो । आईटी क्षेत्रमा ठूलो लगानीको आवश्यकता पर्छ । यसमा बैंकहरूले ठूलो लगानी गरेका पनि छन् ।

बैंकहरु ठूलो तथा बलियो हुनुपर्छ । यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने भएकाले साना संस्थाहरूलाई आर्थिक भार धेरै पर्छ भनेर मर्जर तथा एक्युजेसनको आवश्यकता राष्ट्र बैंकले महशुस गरेको हो कि भन्ने भान पनि हुन्छ । भोलिका दिनमा कस्ता घटना घट्छन् भनेर अहिले आँकलन गर्न सकिदैन । त्यसको जोखिम बहन गर्न सक्ने क्षमता पनि हुँदैन । कस्तो जोखिमको कति भोलुमसम्म कभर गर्ने भन्ने बारेमा बीमा पोलिसीहरू स्पष्ट छैन ।

हामीले इन्स्योरेन्स गर्ने भनेको निक्षेपकर्ताको निक्षेप हो । ३ लाखसम्मको निक्षेपको सुरक्षण भइराखेको छ । नेपालमा साना घटनाहरू विगतमा पनि भएका थिए । ती घटनाबाट पाठ सिकेर साइभर सुरक्षालाई बढाउँदै लगेका छौं ।

यो सुरक्षा प्रणाली प्रर्याप्त छ र अर्को घटना निम्तिदैन भन्ने हुँदैन । हरेक दिन हरेक क्षण नयाँ जोखिम आउँछन् । बैंकिङ क्षेत्रले यस्ता किसिमका जोखिम आउन नदिन फायरवाल, जोखिम बहन गर्न सक्ने उपकरणहरु थप्दै लगेका छन् । साइवर सुरक्षाको जोखिम हरेक देशमा छ ।

संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामा पनि यस्ता घटना भइरहेका छन् । जोखिम हुँदैन भन्न सकिदैन । तर, विगतका त्यस्ता चुनौती र जोखिमबाट पाठ सिकेर त्यसलाई कसरी थप सुरक्षित बनाउने भन्ने कुरामा बैंकिङ क्षेत्र सजक छ । बैंकहरूले सुरक्षा प्रणाली अपनाएका कारण ठूलो खतरा नेपालमा भएका छैनन् । र, अगामी दिनमा पनि नहोस् भन्ने अपेक्षा गरेका छौं ।

बैंकिङ क्षेत्रहरूमा निक्षेपकर्ताको निक्षेप सधै सुरक्षित नै छ । हुनु पनि पर्छ । साना घटना भए बैंक आफैले व्यर्होछ । एक रातमै बैंकको सिस्टम ह्याक भएर बैंक टाट पल्टिने हैन । साइवर सुरक्षाका लागि बैंकहरूले धेरै काम गरेका छन् । कसैले ह्याक गर्न खोजेको बैंकलाई अलर्ट आउँछ । त्यसैले निक्षेपकर्ता डराउनु पर्दैन । बैंकहरू आफै क्षति व्यहोरेर भए पनि निक्षेपकर्ताको बचतको ग्यारेन्टी गर्छन् ।
(नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासँग हाम्रोअर्थले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स