लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। आज काठमाडौंको होटेल मेरियटमा आयोजित एक कार्यक्रममा दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो।

सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्।

दुवै बैंकबीच अहिलेलाई १ः१ अनुपातमा मर्ज हुने सम्झौता भए पनि डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण गरिने सहमति भएको छ। मर्जरपछि बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ।

हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने भएको देखिन्छ ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि चुक्ता पुँजी २१ अर्ब ६५ करोड हुनेछ।

लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स