होटल मेरियटमा ४ बजे सनराइज र लक्ष्मी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो १ः१

काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्जर जानको लागि आज पुस २५ गते सोमबार मर्जर सम्झौता गर्ने भएका छन् । यी दुई बैंक समान स्वाप रेसियोमा मर्जर जान लागेका हुन् । बैंकबीच आज होटल मेरियटमा अपराह्न ४ बजे मर्जर सम्झौता हुँदैछ । लक्ष्मी र सनराइज बैंक मिलेर बन्ने नयाँ बैंकको नाम भने लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता आज हुनेछ ।

दुबै बैंकको संचालक समितिको बैठकले मर्जरको प्रस्ताव पास गरे पछि आजै प्रारम्भिक सम्झौता गर्न लागेका हुन् । दुई बैंक मर्जरमा जाने सम्बन्धमा बोर्डले पास गरिसक्यो, ४ बजे होटल मेरियटमा मर्जर सम्झौता गर्न लागिएको लक्ष्मी बैंकका एक सञ्चालकले बताए ।

दुई बैंक मर्जर जाने सम्झौता गर्न लागेपनि बैंक सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत को वा कुन बैंकबाट बन्ने भन्ने टुंगो अहिलेसम्म लागेको छैन । अहिलेसम्मको छलफलअनुसार स्वाप रेसियो १ः१ नै राख्ने भनिएको छ । यदि डीडीएमा रिपोर्टमा ५ प्रतिशतभन्दा फरक परेमा भने सोहि अनुसार स्वाप रेसियो तय गर्ने अहिले निर्णय ती सञ्चालकले बताए ।

लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । यी बैंक समान स्वाप रेसियोमा मर्ज हुँदा चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स