काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । उनले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै आफूले विश्वासको मत लिन चाहेको जानकारी गराएका हुन ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तिनजना स्वतन्त्र सांसद समेत गरी कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फ एक सय ६५ र समानुपातिकतर्फ एक सय १० सांसद गरी कुल दुई सय ७५ जना सांसद छन् । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न एक सय ३८ सांसदको समर्थन आवश्यक हुन्छ ।