सेयर कर्जा घटाउँदै बैंक तथा वित्तीय संस्था, ४ महिनामा साढे ४ अर्बले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ४ अर्ब ५४ करोड ७० लाख रुपैयाँले मार्जिन सेयरकर्जा घटेको छ । साउनदेखि कार्तिकसम्मको सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन ल्याण्डिङ कर्जा घटाएका हुन् । २०७९ असारअन्त्यमा ८० अर्ब ५० करोड ८० लाख रुपैयाँ रहेको मार्जिन ल्याण्डिङ कर्जा कार्तिक महिनमा आइपुग्दा घटेर ७५ अर्ब ९६ करोडमा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ४/१२ को सीमा लागू गरेर कर्जा घटाउन दवाव दिएपछि सेयर कर्जा होल्डरहरूले सो कर्जा घटाउन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाले गत महिनमा असोजकोभन्दा ३७ करोड ४० लाख रुपैयाँले सेयर कर्जा घटाएका छन् अर्थात सेयर कर्जा दिने कर्जा होल्डरहरू सो कर्जा तिरेका छन् ।

यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखेको थियो । उक्त व्यवस्थालाई चालु आवको मौद्रिक नीतिमार्फत केहि संशोधन गरी ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

२५ लाख रुपैयाँभन्दा कमको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ ।

वाणिज्य बैंकहरूले चालु आवको ४ महिनामा ४ अर्ब ९० करोड ७० लाख रुपैयाँले सेयर कर्जा घटाएका छन् । गत आवको अन्त्यसम्म वाण्ज्यि बैंकहरूको ६४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ रहेको सेयर कर्जा कार्तिक महिनामा आइपुग्दा ५९ अर्ब ९१ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

चालु आवको ४ महिनामा विकासहरूले सेयर कर्जामा सामान्य वृद्धि गरेका छन् । असारमसान्तसम्म ११ अर्ब ५२ करोड ८० लाख रुपैयाँ रहेको विकास बैंकहरूको सेयर कर्जा कार्तिकमा आइपुग्दा ८ करोड ८० लाख रुपैयाँले बढेर १२ अर्ब २० करोड ४० लाख रुपैयाँ पुगेको छ । असोज महिनामा यस्तो कर्जा अझ बढेर १२ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

वाणिज्य बैंक र विकास बैंकको सेयर कर्जा घटेसँगै फाइनान्स कम्पनीहरूको सेयर कर्जा भने घटेको छ । २०७९ असार अन्त्यसम्म ३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ रहेको फाइनान्स कम्पनीहरूको सेयर कर्जा कार्तिक महिनामा आइपुग्दा घटेर ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स